मनीमाया कुलुङको सफलताको कथा

संखुवासभा जिल्लाको अति दुर्गम गाउँ सिलीचोङ गाउँपालिका ३, साविक ताम्कु गा.वि.स. वडा नं. ७ मा वि.स. २०२४ साल १० महिना १८ गतेका दिन बुबा रामकरसिहं कुलुङ र आमा पञ्चश्री कुलुङको कोखबाट जन्मिएका मनीमाया कुलुङ अल्लो उद्यमीमध्येको एक सफल उद्यमी महिलाको रुपमा चिनिनुहुन्छ । मनीमाया कुलुङको जीवन संघर्षपूर्ण भएता पनि अल्लो उद्यममा सफल उद्यमीको रुपमा स्थापित हुनु भएको छ । बाल्यकाल गाउँ घरको घाँस दाउरा र मेलापातमा बितेका थियो भने औपचारिक शिक्षा लिन नसक्नु आफ्नै घरायसी बाध्यता थियो । अनौपचारिक साक्षरता शिक्षा लिएर सामान्य लेखपढ गर्न सक्ने मनीमाया कुलुङको विवाह ताम्कु ७, लकुवा निवासी जंग बहादुर कुलुङसँग २०५० सालमा कुलुङ परम्परा अनुसार भएका हो। मनीमाया कुलुङ १ छोरा र १ छोरीको पालन पोषण र शिक्षा दिक्षाको जिम्मेवारी निर्वाह गर्दै आउनु भएको छ भने अल्लो उद्यम व्यवसाय सञ्चालनमा परिवारको सकारात्मक भूमिका र सहयोग पाएको बताउनु हुन्छ। परिवारमा बुहारीको जिम्मेवारी सम्हाल्दै आउनु भएको मनीमाया कुलुङ विवाह भन्दा पहिला देखि नै अल्लो उद्यम व्यवसायमा लाग्नु भएको हो।

परापुर्बकाल देखि नै प्रयोग गर्दै आएको कारण अल्लो हुने क्षेत्रमा मात्र कुलङ जातिहरुको बासोबास गर्दै आएको पाइन्छ र कुलुङ पुरुष जातिहरुले अल्लो लोक्ता जंगलबाट संकलन गर्ने साथै महिला दिदी बहिनीहरुले आमाहरुसंग भएको शीप हस्तान्तरण गर्ने कामको निरन्तरता आआफ्नै परिवारबाट हालसम्म पनि हुंदै आएको पाइन्छ। तर आधुनिक तानबाट अल्लो कपडा उत्पादन गर्ने प्रविधि भने २०४५ साल अगाडि भएको पाइदैन। यसरी समय बित्दै जादा समय सापेक्ष नयाँ प्रविधि विकास हुँदै गएको हुँदा नयाँ प्रविधिको अवसर र विकासमा सहभागीता पनि मनीमाया कुलुङको राम्रो रहेको छ। आधुनिक तान अथवा लुमको प्रयोग गरेर अल्लो धागो र न्यूजिल्याण्ड भेंडाको ऊन मिसाएर अल्लो कपडा बुनेर बजारमा बिक्रि गर्ने सीप विकासको शुरुआत यु.के. नागरिक सुजी डन्समोरले संखुवासभा जिल्ला, बाला गा.वि.स. को डाडा गाउँबाट शुरु गरेर सिशुवा क्लव समेतको स्थापना गरि त्यस पछि निरन्तर रुपमा तालिम सञ्चालन र सामान उत्पादन गरि स्थानीय बजार भन्दा बाहिर कपडा बिक्री गर्ने कामको शुरु भएको पाइन्छ। बाला गाउँको अल्लो बुनाइ तालिम सञ्चालनमा सहयोग गर्ने डाडा गाउँकै बुद्धिजिवी खगेन्द्र संगम मेवाहाङ राई रहेका थिए। त्यस बेला नेपालमा पञ्चायती व्यवस्था थियो। डांडा गाउँको अल्लो बुनाई तालिम सफल भएपछि बाला,ताम्कु, शिसुवाखोला र मांतेवा ४ क्षेत्रका सबैलाई सहभागी गराई तालिम सञ्चालन गरियो। सिशुवा क्लवमा तालिम लिई क्लवमा नै धेरै बर्ष बुनाकर र प्रशिक्षक भई काम गरिसकेपछि मनिमाया कुुलुङले २०५० सालमा सबैभन्दा पहिले सूर्योदय सुती तथा अल्लो कपडा नामको ३ जनाको नाममा साझेदारी उद्योग ताम्कुको लकुवा गाउंमा दर्ता गरिन। हाल सूर्योदय उद्योगको भवनमा कपडा उत्पादन गर्ने काम पनि भई रहेको पाइन्छ ।

२०४५ सालमा लुमको प्रयोग गरि अल्लो कपडा बुनाइ तालिमको सहभागीहरु र प्रशिक्षक सुजि डन्समोरले सिशुवा क्लव भवनको निर्माण गरि आर्थिक समेतको व्यवस्थापन मिलाई यु.के. नागरिक लिस्बेथ महिला प्रशिक्षकद्वारा दोस्रो पटकको अल्लो बुनाई तालिम भएको स्थान बाला गा.वि.स.को शिसुवा बजार छेउको सिशुवा क्लवमा तालिम सञ्चालन गरिएका थिए। तालिम ३ महिनासम्म चलेको थियो। तालिममा कपडा ढाँचा अथवा बिभिन्न किसिमका अल्लो कपडाका नमूना तयार गरिएका थिए। तालिम सञ्चालनमा सहभागी हुने बुनाकरहरुमा मनिमाया कुलङ पनि थिईन।

त्यस्तै, लुमको प्रयोग गरि अल्लो कपडाको सल,मफलर डिजाइन सम्बन्धि काठमाण्डौको महागुठीमा आयोजित ३ महिने तालिममा मनीमाया कुलङ पनि सहभागी थिईन। ताम्कु ७ लकुवामामा बांसको तान बनाएर हाते तानबाट मनीमायाले पहिलो चोटी प्रशिक्षक भई तालिम सञ्चालन गरिन्। तालिममा ठाडो खेस, गिम्ती तान सिकाउने गरिएको थियो। महिला प्रशिक्षण केन्द्र धनकुटामा हिसाव राख्ने, धागो उत्पादन, बुनाई सम्बन्धि १ महिने तालिममा पनि मनीमाया सहभागी भईन। सिशुवा क्लव भवनमा घरेलु केन्द्रिय कार्यलय काठमाडौ त्रिपुश्वरबाट खटिएका राजेन्द्र कोइराला र कृष्ण श्रेष्ठले दिनुभएको सटलवाला तान सञ्चालन गर्ने र गिम्ती बुट्टामा अल्लो कपडा उत्पादन गर्ने ३ महिने तालिममा मनिमाया कुलुङले पनि भाग लिईन।

सिशुवा क्लवमा आफुले तान बुन्दै गर्दा क्लवको छिमेकी गाउंघरबाट सिक्न आउनेहरुलाई निःशुल्क रुपमा सिकाउने काम गरियो र आफ्नै गाउंले लकुवाका दिदी बहिनीहरुलाई निःशुल्क रुपमा उनीहरुको घरमा गएर अनि आफुले बुनेको तानमा बुन्ने सिकाउने काम गरिन।
मनिमाया कुलुङले हाल सम्म प्रशिक्षक भई तालिम दिएका ठाउंहरु यस प्रकार रहेका छन्:

क्र. सं स्थान तालिमको संख्या
१. लकुवा, ताम्कु ७
२. सिशुवा क्लव, बाला गा.वि.स
३. पाथेका गा.वि.स, खोटाङ
३. पाथेका गा.वि.स, खोटाङ
४. स्याउलिबांग गा.वि.स, प्युठान
५. अवलाचिङ्ग गा.वि.स, सुर्खेत
६. कालिखोला गा.वि.स, ताप्लेजुङ
७. लेलेप गा.वि.स, ताप्लेजुङ
८. खाँदबारी न.पा, संखुवासभा

अल्लो क्लव हुनुभन्दा अगाडी डाडा गाउँमा हरी (भोटेनी) कुमारी कुलुङ छिमेकी गाउँको दिदीले तालिम लिएको थाहा पाए पछि तालिममा सहभागी हुने इच्छा भएको हो । त्यस पछि १ धार्नी ( २.५ के.जी. ) अल्लो धागो तयार गरि शुद्द अल्लोको सादा कपडा आमाको सुतीकपडा बुन्ने रसी जुवा भन्ने स्थानीय तानमा ५ मिटरको तान लगाएर बुन्ने काम आमाबाट सिकेर घरमा कपडा प्रयोग गरिएको थियो । त्यस पछि सिसुवा क्लवमा न्युजिल्याण्ड भेडाको ऊन चर्खा, रांटा र कटुवामा धागो उत्पादन गर्ने गरि सुजी डन्समोरले व्यवस्था मिलाएको खवर पाए पनि आफु क्लवमा ऊन माग्न जान सक्ने आंट नभएकोले ताम्कु ६ सिभाको बुद्धिजीवी गणेस कुलुङलाई कपडा बुनेर अधियामा विक्रि गर्ने सर्तमा १ के.जी. न्युजिल्याण्ड ऊन क्लवबाट मगाउन लगाएर आफैंले कटुवा र रांटाको सहायताले ऊनको धागो बनाइ अल्लो धागोसंग मिसाएर १० मिटर कपडा त्यही आमाको रसी जुवा तानमा उत्पादन गरि प्रति मिटर रु.६० मा अल्लो क्लव सिशुवामा कपडा पहिलो पटक विक्री गरि रकम गणेश मामासंग आधा आधा बाडिन।

सूर्योदय उद्योग दर्ता गर्नुभन्दा धेरै बर्ष अघिसम्म गाउँलेहरुको सहयोग लिई आफ्नै घरबारीमा जनश्रमदानले बांसको खम्वा भएको खरको छानो लगाएर त्यही गाउंले बुनाकरहरुले तान बुन्ने, स्टोर गर्ने, कपडा नाप जांच हर हिसाव गरेर शिसुवा क्लवमा बिक्री गर्ने काम गरिएको थियो । त्यस समयमा न्युजिल्याण्ड भेंडाको ऊन र अल्लो मिक्स कपडा , विदेशीहरुको अडर अनुसारको पर्दा, प्लेसम्याट, सल,मफलर उत्पादन गरेर मासिक रुपमा क्लबमा बिक्रि गरिएको थियो। बिक्री गरिएको सामानका मूल्य एकमुष्टमा नपाउने, उधारोमा बिक्री गर्नु पर्ने समस्या अल्लो बुनाकर दिदी बहिनीहरुले भोगिरहेका थिए। यसै क्रममा वि.स. २०६६ सालमा हिमालय अल्लो तथा सुती कपडा उद्योग (अल्लो समाज) को खाँदबारीमा स्थापना भयो। अल्लो समाजको उद्देश्य भनेको गाउँका अल्लो उद्यमीहरुको उत्पादन नगदमा खरिद बिक्री गर्ने रहेकोले उत्पादित सामान नगदमा बिक्री गर्ने अवसर पाउनुका साथै बजारमा माग रहेको सामान उत्पादन गरि बुनाकरले बजार खोज्नु पर्ने भएन। अल्लो समाजमा उत्पादन गरेको सामान नगदमा बिक्री गरी घरायसी खर्च टार्न पाइयो। यसरी अल्लो समाजमा अल्लोबाट उत्पादित सामान बिक्री गरी करिब मासिक रु.७५००। दरले आम्दानी गरी घर व्यवहार चलाउन र बाल बच्चाहरुको शिक्षा दिक्षाको खाचो टार्दै आउनु भएको कुरा बताउनु हुन्छ। स्थापना काल देखि नै कुलुङको श्रीमान जंग बहादुर कुलुङ भने अल्लो समाजको व्यवस्थापक काम गर्दै आउनुु भएको छ, भने अल्लो उद्यम व्यवसाय सञ्चालनमा परिवारको सकारात्मक सोच र सहयोग रहेकोले अल्लो उद्यम व्यवसायमा सफलता पाएकी कुरा बताउनुहुन्छ।

मनीमाया कुलुङको अल्लो उद्यम व्यवसायको लगानी र मिहिनेतले निरन्तर सफलता पाइरहनु भएको छ भने घर परिवार सञ्चालनको प्रमुख आयस्रोत अल्लो उद्यम व्यवसाय नै हो। व्यवसाय प्रवर्धनको शिलसिलामा विभिन्न संघसंस्थाबाट तालिम,गोष्ठी तथा भ्रमणमा सहभागीता हुनुका साथै विभिन्न जिल्लाहरुमा अल्लो प्रशोधन तथा बुनाइ प्रशिक्षकको सफल भूमिका निर्वाह गर्नु भएको छ। सङ्खुवसभा जिल्लामा २०७४ मा उत्कृष्ट महिला उद्यमी पुरस्कारले सम्मानित मनीमाया कुलुङ अल्लो उद्यम व्यवसायमा सफल महिलाको रुपमा स्थापित हुनु भएको छ।