मन कुमारी कुलुङको सफलताको कथा

सङ्खुवासभा जिल्लाको अति दुर्गम गाउँ सिलीचोङ गाउँ पालिका साविक बाला गा.वि.स. वडा नं. ७ मा वि.स. २०३५ साल ११ महिना १ गतेका दिन बुबा कृष्ण बहादुर कुलुङ र आमा गंगीमाया कुलुङको कोखबाट जन्मिएका मन कुमारी कुलुङ अल्लो उद्यमीमध्येका एक सफल उद्यमी महिलाको रुपमा चिनिनुहुन्छ । मानिसको अमूल्य जीवन जन्मेपछि हजारौं कुरासँग लुकामारी खेल्नु पर्ने हुन्छ। त्यस्तै मन कुमारी कुलुङको पनि जीवन संघर्षपूर्ण रहेको छ। आफ्नो बाल्यकाल आमा बुबाको काखमा नै गाउँले वातावरणमा हुर्किएका कुलुङ ४।५ वर्षको उमेर देखि बाँसको धिरीमा पानी बोक्ने,घाँस,दाउरा,पानी, पधेरी, मेलापात गर्दै गाई गोठ जंगलमा वस्तु चराउने जिमेवारी सम्हाल्नु हुन्थ्यो। आफ्नो उमेर अनुसारको थप जिम्मेवारी बढ्दै गएको कुलुङ परिवारमा जम्मा ४ बहिनी, ४ भाइ सन्तानमध्येको माइली सन्तानको रुपमा जन्मिएकी मनकुमारी कुलुङको बाल्यकाल पनि सामान्य परिवारमा जन्मिएको कारण संघर्षमय बित्दै गएको थियो। ग्रामीण क्षेत्र त्यसमा पनि अति दुर्गम गाउँमा बसोबास भएकोले यातायात सुविधा थिएन। त्यो बेला ८।९ दिन लगाएर १३।१४ वर्षको उमेरमा हिलेदेखि नुन,चामल बोकेको कुरा अहिले सम्झिरहनु भएको कुरा बताउनु हुन्छ।

यसरी बाल्यकालदेखि नै संघर्षसमय जीवन बिताउदै आउने क्रममा उमेर बढ्दै जादा पढ्ने रहर जाग्यो। घरमा बुबा आमासँग पढ्ने ढिपी गरेपछि गाउँकै विद्यालयमा कक्षमा १ मा नाम लेखिदिएपछि औपचारिक रुपमा कक्षा ८ सम्मको अध्ययन पुरा गर्नु भएको कुलुङ पढ्ने खर्चको लागि दशैं र तिहार विदामा सोलुखुम्बु जिल्लाको नाम्चे र कञ्चनजंघा हिमालतिर विदेशीको भारी बोकेर किताब,कापी,कलम अर्थात पढाइ खर्च जुटाउनुका साथै घर व्यवहार चलाउन समेत सहयोग गर्नु भएको बताउनु हुन्छ। यसरी हरेक संघर्षको बावजुद पढाइ ठिकै रहेको कुरा सम्झिनु हुन्छ । पढ्ने इच्छा भए पनि घरको आर्थिक अवस्था कमजोर भएपछि के नै लाग्छ। पढाइलाई विसाएर गाउँघरको काम मेलापात,घाँस,दाउरा गोठालोमा नै दिनचर्या चलिरह्यो । समय वित्दै जादा उमेरको परिपक्कता पनि भयो। २०५७ सालमा बाला ८ दांखिला निवासी लक्ष्मण कुलुङसँग बैबाहिक बन्धनमा बाँधिएपछि नयाँ जीवनको शुरुवात भयो। पेशाको हिसाबले शिक्षक श्रीमान त्यो बेला बी.ए.मा अध्ययन गरिरहनुभएको थियो। नयाँ जीवन नयाँ परिवार र नयाँ जिम्मेवारी लिन त त्यति सहज थिएन तर पनि जीवन संघर्ष हो गृहस्थी जीवन पनि सहज रुपमा नै सम्हादै गएको कुरा बताउनुहुन्छ।

अल्लो कुलुङ समुदायको लागि जीवन मृत्युसँग जोडिएको धार्मिक,साँस्कृतिक तथा वैज्ञानिक महत्व बोकेको वस्तु हो। यसको प्रयोग परम्परागत रुपमा कुलुङ समुदायले लोक्ता निकाली धागो तयार गरी झिलिम्मा (लुक्सपा) डोक्रा, धागो बनाइ बेच्ने र दाम्लो बनाइ घरायसी कामकाजमा प्रयोग गर्नुका साथै कुलुङ संस्कार पूजा पाठ गर्दा अल्लोको कपडा लुक्सपाको प्रयोग गर्दै आएको छ। यसरी समय बित्दै जाँदा सामान्य गाउँ घरमा सल, मफ्लर र प्लेसम्याट बुन्न सम्म जानेको कुरा बताउनु हुन्छ। समयको अन्तरालसँगै २०५७ सालमा इको हिमाल अष्ट्रियाबाट सञ्चालित अन्तराष्ट्रिय गैह् सरकारी संस्थाको आयोजनामा ४५ दिने अल्लो कपडा उत्पादन तथा रंग रोगन तालिम साविक ताम्कु गा.वि.स. वडा नं. ९, हाल सिलिचोङ गाउँपालिका ३ ,सिकिदिममा आयोजना भएको थियो। उक्त तालिममा मनकुमारी कुलुङले सहभागी हुने सुनौलो अवसर पाएर अल्लो उद्यम व्यवसायमा नयाँ सीपमूलक जीवन शुरुवात भयो। उहाँ ३ छोराको आमा हुनुहुन्छ। जेठा छोरा अशोक कुलुङ उक्त ४५ दिने अल्लो बुनाइ तथा रंग रोगन तालिममा जन्मिएको कुरा सुनाउनु हुन्छ। त्यो समय अत्यन्तै पीडादायी र समस्यापूर्ण रहको सम्झिनु हुन्छ भने त्यो समयमा सहयोग गर्नुहुने सबैलाई जीवनभर भूल्न सक्दिन भन्नु हुन्छ।

यसरी अल्लो व्यवसायमा परम्परादेखि चल्दै आएको प्रविधि सुधार गर्दै लाने काम विभिन्न संघसंस्थाले सहयोग गर्यो। त्यो बेला सामान उत्पादन गरेता पनि बजारसम्म पुर्याउने माध्यम थिएन । अल्लोबाट उत्पादित सामान किन्ने स्थानीय स्तरमा साविक बाला १, शिसुवाटारमा अल्लो कल्ब भन्ने एउटा संस्था थियो। त्यो संस्थाले सामान लिए पनि सामानको पैसा १ वर्ष दिन पर्खिनु पर्दथ्यो। उधारोमा कारोबार हुने यो तरिकाले अल्लो उद्यमीहरुलाई आफ्नो परिवारमा खर्च टार्न अत्यन्तै गाह्रो थियो। यस्तो समस्या सामना गर्दै भए पनि अल्लो उद्यम व्यवसाय कुलुङ महिलाहरुको जीविकोपार्जनमा टेवा पुर्याउने आय आर्जनको प्रमुख स्रोत बनेको छ। कुलुङको श्रीमान पेशाले शिक्षक हुनुहुन्छ तर पनि छोराहरुको शिक्षा अनि घर व्यवहार चलाउन गाह्रो भएको कुरा बताउनु हुन्छ । यी सबै कुरासँग मुकाबिला गर्दै जाँदा अल्लो व्यवसायलाई निरन्तरता दिदै गाउँका दिदी बहिनीहरुलाई अल्लो बुनाइ सीप सिकाउने काम गर्दै जाने र इको हिमालबाट तान बुन्ने लुम, तान लगाउने वार्पिन ड्रम सेट पाएपछि झन हौसला बढ्दै गयो र गाउँमा १५ जना दिदी बहिनीहरुलाई तान बुन्ने सीप सिकाए। अल्लो बुनाइ डिजाइन तालिम पनि संस्थाहरुले दियो। गाउँमा पनि दिदी बहिनीहरु सबै उत्साहित भए पछि तान बुन्ने घर भवन इको हिमाल संस्थाको आर्थिक सहयोगमा बनाउन सफल भइयो। यसरी यो सीपलाई घरायसी जिम्मेवारीसँग नै निरन्तरता दिइरहेको कुरा बताउनु हुन्छ। समय बित्दै जाँदा घर परिवारसँग छुटेर घरजम गर्नु पर्ने भयो। अल्लो बुनाइ सीप डिजाइन तथा सीप विकास सम्बन्धी तालिम प्रशिक्षक २०६४ सालमा १ महिने तालिम कास्की जिल्ला पोखरामा साथै गाउँस्तरमा डिजाइन सम्बन्धी २० दिने तालिम दिएकी कुरा बताउनु हुन्छ। आफूसँग भएको सीपलाई अरुलाई जति सिकाउँदै जाँदा आफ्नो पनि बढ्दै गएको कुरा सुनाउनु हुन्छ ।

अल्लोबाट उत्पादन गरेका सामानहरु नगदमा बिक्री गर्न नपाएको बुनाकरहरुको प्रमुख समस्या थियो। यो समस्यालाई मध्यनजर गरेर हिमालय अल्लो तथा सुती कपडा उद्योग (अल्लो समाज) को स्थापना वि.स. २०६६ साल पौष २६ गते घरेलु तथा साना उद्योग विकास समिति सङ्खुवासभामा दर्ता भइ अल्लो बुनाकरहरुको सीप,क्षमता विकास तथा उत्पादित वस्तुहरुको बजारीकरण गर्ने काम शुरु भयो। यसरी अल्लो समाजमा सामानको गुणस्तर हेर्न सक्ने साथै बुनाकरहरुलाई बुनाइ सीपसम्बन्धी सरसल्लाह,सुझाब दिने एक जना दक्ष कर्मचारीको आवश्यकता भयो। उक्त ठाउँमा उनलाई काम गर्ने अवसर मिल्यो । आफू औपचारिक रुपमा उच्च शिक्षा लिन नसके पनि अल्लो बुनाइ सम्बन्धि सीपमा दक्ष भएकोले गर्दा काम गर्ने अवसर पाएकोमा गर्व गरेकी कुरा बताउनु हुन्छ। घर परिवारसंग सल्लाह गरेर ३ जना छोराहरु समेत खाँदबारी बसेर पढाउने र काम पनि गर्ने निर्णय लिएकी कुरा सुनाउनु हुन्छ। यसरी महिला भएर पनि अनेक कुरासँग लुकामारी खेल्दै अल्लो समाजमा काम गरेको,कार्यालय समय भन्दा अरु समयमा अल्लो बुन्ने काम निरन्तर गर्दै मासिक रु.२५,००० जस्तो आम्दानी गरी छोराहरुको शिक्षा तथा घर व्यवहार चलाउनमा सहयोग पुगेको कुरा भन्नु हुन्छ। यसरी अल्लो समाजमा काम गरेको पनि ९ वर्ष विति सकेको छ भने सहयोग गर्ने दातृ निकाय,अल्लो समाज सञ्चालक समिति, तथा कर्मचारीहरुको सकारात्मक सहयोगले उद्योगको उद्देश्य अनुसार काम पनि सफलता साथ गरिहेको कुरामा आफू खुशी हुनुहुन्छ। अल्लो व्यवसाय देखि जागिर सम्म खाँदा समय वित्दै जादा परिवारले बुझेर सकारात्मक सहयोग गर्नु भएको छ र सबै खुशी हुनुहुन्छ। दुर्गम गाउँमा जन्मेर हरेक समस्यासँग मुकाविला गर्दै आफ्नो जीवन अल्लो उद्यम व्यवसायले नै चिनाउन सकेकोमा खुशी हुनुहुन्छ। अल्लो व्यवसाय जीवनको पहिलो आर्थिक आधार मात्रै नभएर समाज सेवा गर्ने प्रमुख माध्यम पनि भएको छ। अल्लो व्यवसायले धेरै महिला दिदी बहिनीहरुको जीविकपार्जनमा टेवा पुर्याएको छ। आज यो अवस्थासम्म पुराउन सहयोेग गर्ने अल्लो समाज र अन्य विभिन्न संघ संस्था,व्यक्ति र व्यक्तित्वहरुमा हार्दिक आभार व्यक्त गर्नुहुन्छ र घर परिवारलाई पनि धन्यवाद दिनुहुन्छ।